आहा ! खान पाइने भयो जुम्लाको अर्गानिक स्याउ

आहा ! खान पाइने भयो जुम्लाको अर्गानिक स्याउ

जुम्ला भन्नेबित्तिकै आममानिसले पहिला सम्झिने भनेकै स्याउ हो । अहिले जुम्लामा उत्पादित मार्सी चामलको पनि लोकप्रियता बढिरहेको छ । तर, जुम्ली स्याउको चर्चा नेपाली फलफूल बजारमा निकै हुने गर्छ । निकै मीठो र स्वादिलो हुने भएकाले जुम्ली स्याउप्रति उपभोक्ताको स्वाभाविक आकर्षण देखिन्छ ।

यस सिजनको जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ । भदौको पहिलो साताबाट जिल्लाबाहिर स्याउ निर्यात गर्न सुरु भएको हो ।

स्याउ पाकेर खान लायकको भएपछि औपचारिक रूपमा बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गर्दै स्याउ बोटबाट टिप्नका लागि तयार भए पनि निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको जनाएको हो ।

स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायका बीचमा गुणस्तरीय स्याउ बजारमा पठाउनका लागि भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो । कृषि फर्म संचालन गरेका तथा स्याउ बगैँचा भएका किसानहरूले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ । जुम्ली स्याउको पहिचान बचाउनका लागि जुम्ली स्याउको लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको छ ।

स्याउ निर्यातका लागि खुला गरिएपछि जुम्ला जिल्लाबाट मात्र नेपालका विभिन्न जिल्लाहरूमा बिक्रीका लागि २ हजार टनभन्दा बढी स्याउ निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, 'जुम्लाबाट ए ग्रेड र बी ग्रेडको स्याउ बाहिर निर्यात गरिएको छ । बाँकी सी ग्रेडको स्याउ जुम्लाका स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको छ ।'

३१ हजार ८ सय अनुदानका कार्टुन वितरण

जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ विभिन्न बजारमा पठाउनका लागि यस वर्ष ३१ हजार ८ सयवटा कार्टुन वितरण गरिएको छ । स्याउ सुपरजोन कार्यालय जुम्लाले १० हजार ८ सय र कृषि विकास कार्यालय जुम्लाले २१ हजार वटा कार्टुन वितरण गरेको हो । जुम्लामा उत्पादित स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भन्नका लागि ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराउन थालिएको हो । उद्यमी, कृषि फार्म, सहकारी कृषक समूह गरेर ६ सय १५ वटा स्याउ सुपोरजोन कार्यालयमा सूचीकृत भएका छन् ।

तातोपनी, गुठीचौर, सिँजा र पातारासीका स्याउ व्यापारीलाई अनुदानका कार्टुन दिइएको छ । जुम्लाका स्याउ किसान सरोज शाहीले ५० प्रतिशत अनुदानमा दिइने कार्टुनले कृषकको आर्थिक भार कम भएको बताए । उनले भने, 'यसले गर्दा जुम्ली स्याउको पहिचान पनि जोगाएको छ ।'

जुम्लामा १५ हजार बगैँचा

जुम्लामा मात्र १५ हजार स्याउ बगैँचा स्थापना भएको तथ्यांक छ । जिल्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । यहाँ ३ हजार ८ सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । यस वर्ष स्याउ खेतीबाट १६ करोड रुपैयाँ बराबर आम्दानी हुने अपेक्षा गरिएको छ। गत वर्ष झण्डै १२ करोड रुपैयाँ बराबरको स्याउ बिक्री वितरण भएको तथ्यांक छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com