ठमेलमा सिसि क्यामरा जडान सुरु

ठमेलमा सिसि क्यामरा जडान सुरु

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए ।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन् ।

यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए ।

विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com