लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार

लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार

लुम्बिनी । बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने भएका हुन ।

यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने भिक्षु मैत्तयले बताए ।

कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार भिक्षु मेत्तेयलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेा थिए ।

बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ । बौद्ध धर्म मान्ने मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व उजागर गरेको कोषका भिक्षु मैत्तयले बताए ।

“कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो”, उनले भने, “हामीले उपहारस्वरूप कालानमक चामल दिन लागेका हौँ ।”

कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उनको भनाइ छ ।

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा कालानमक रोपेर धान मङ्गलोत्सव गरिने इतिहासमा उल्लेख छ । बुद्धकालीन महत्त्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको भिक्षु मैत्तयले बताए ।

कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु मैत्तयले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्ने छन् । साथै दुई देशका जनताबीचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमा छलफल हुने उनले बताए ।

खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । बौद्ध सम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालीन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले लाभ लिन सक्ने छन् ।

यो चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बीउ विकास गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com