वर्षा र हावाहुरीले केरा खेतीमा करोडौँ क्षति

वर्षा र हावाहुरीले केरा खेतीमा करोडौँ क्षति

टीकापुर (कैलाली) । यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले किसानको तयार भएका केरा खेतीमा करोडौँको क्षति पुर्‍याएको किसानको गुनासो छ । असोज २९ गते सोमबार वर्षासँगै आएको हावाहुरीले कैलालीमा किसानका धानबाली र केरा खेतीमा क्षति भएको छ ।

पाँच बिघा क्षेत्रफलमा केराखेती गरेको टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको छ । उत्पादन लिने समयमा हावाहुरीले एकै पटक क्षति पुर्‍याउँदा उहाँ निकै दुःखी छन् । ‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्‍यो’, उनले भने, ‘वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।’

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । उनको बारीमा पनि क्षति भएको छ ।’अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको छ’, उनी भन्छन्, ‘किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्‍यो ।’

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुका अनुसार कैलालीमा समग्रमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्‍याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । ‘कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ’, थारूले भने, ‘यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ ।’ हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने थारूले बताए ।

अध्यक्ष थारूले बर्सेनि केरा खेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गरेका छन् ।’हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ’, उनी भन्छन्, ‘बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।’

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । जसमा आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्‍याएको छ । हावाहुरीले टीकापुरको वडा नं ४ मा २६ वटा घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com