काठमाडौँ । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो ।
मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती मुलुकले छलफलका लागि समय तोकेपछि मन्त्रालयको टोली त्यसतर्फ जाने जनाइएको छ ।
रोमानिया भने अहिले नेपालीहरू ठूलो संख्यामा पुगिरहेको श्रम गन्तव्य हो । चालु आर्थिक वर्ष (आव) ०७९-८० को पहिलो १० महिनामा नेपालबाट ११ हजार ४६३ नेपाली नयाँ श्रम भिसामा रोजगारीका लागि रोमानिया पुगिसकेका छन् । गत आव ०७८-७९ मा यही अवधिमा यो संख्या ३ हजार ७०६ मात्रै थियो । रोमानिया चालु आर्थिक वर्षमा मुख्य श्रम गन्तव्यको सूचीमा सातौँ स्थानमा छ ।