टिकौली चौरमा रत्ननगर महोत्सव सुरु

टिकौली चौरमा रत्ननगर महोत्सव सुरु

चितवन- समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रहेको रत्ननगर महोत्सव बिहीबारदेखि टिकोली चौरमा सुरु भएको छ । १२औं संस्करण महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समारोहका बीच उद्घघाटन गर्नुभएको थियो ।

पर्यटनको विकासको लागि नयाँ गन्तव्यको पहिचान र धार्मिक पर्यटनको विकासलाई जोड दिइएको महोत्सवमा कृषि क्षेत्रको विकासका लागि मकै बालीको संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएको छ ।

“मकै एक परिकार र प्रयोग अनेक” भन्ने मान्यतालाई स्थापित गर्न परिकारको उपयोग र मकैको बोटदेखि अन्य सामाग्रीको प्रयोगलाई आत्मसात गर्ने गरि प्रर्वर्द्धन गरिएको संघका उपाध्यक्ष तथा कृषि प्रर्वद्धन समितिका संयोजक हरि अधिकारीले जानकारी दिनुभयो ।

मकै बालीको संरक्षण र प्रर्वद्धनको लागि महोत्सवस्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकैबाली अनुसन्धान केन्द्रबाट २० प्रजातीका मकैको वारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । महोत्सवको कृषि परिसर, सांस्कृतिक घर र खगेरीमा मोटरबोट मुख्य आकर्षण रहेको छ ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिएको बरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिनुभयो ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com