२४.२ प्रतिशतले रेमिट्यान्स बढ्दा ९ खर्ब भित्रियो

२४.२ प्रतिशतले रेमिट्यान्स बढ्दा ९ खर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४.२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चैतसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेको छ । यो अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले बढेको छ । चैतसम्म २ लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

१४ अर्बले घट्यो वैदेशिक लगानी

नेपालको शोधनान्तर बचतको स्थिति उकासिँदै गएको छ । तर, प्रत्यक्ष वैदेशिक लगानी ठूलो दरमा घटेको छ । चालु आर्थिक वर्ष २०७९-८० को चैतसम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । अघिल्लो फागुनसम्म यस्तो बचत १४८ अर्ब रुपैयाँ बराबर थियो भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा पुगेको छ ।

समीक्षा अवधिमा चालु खाता भने ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाताको घाटा पनि बिस्तारै बचततर्फ उन्मुख छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटाको अवस्थामा आइपुगेको छ ।

यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ८९ करोडले कम भएको देखिएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कम भएर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने २ अर्ब ६२ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।

चैतसम्मको मुद्रास्फीति ७.२८ प्रतिशत

चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथ्यांक सार्वजनिक गर्दै बैंकले चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com