प्राधिकरणले भारतलाई बिजुली बेचेर साढे १२ अर्ब कमायो

प्राधिकरणले भारतलाई बिजुली बेचेर साढे १२ अर्ब कमायो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले चालु आवको साउन, भदौ, असोज र कात्तिक महिनामा विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९/०८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ । साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com