कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन

कोरियन भाषा परीक्षामा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकोमा शुक्रबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।

गत साउनमा पानी जहाज निर्माणसम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो। त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरुद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिसकिएको छैन।

इन्स्पेक्टरको भर्नामा न्यून पर्‍यो आवेदन

नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा न्यून आवेदन परेको छ  भने प्रहरी सहायक निरीक्षक (असई)मा उच्च आवेदन परेको छ । ९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३, दुई सय ६० जनाको मागमा १९ हजार नौ सय ३२ को आवेदन परेको हो ।

इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com