धनियाँ बेचेरै वार्षिक तीन लाख

धनियाँ बेचेरै वार्षिक तीन लाख

म्याग्दी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरेका छन् ।

बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा रु डेढ लाखभन्दा बढी आम्दानी भएको बताए ।

हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । रु सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई रु २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com