‘गैरआवासीय नेपालीका नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउँछन्’

‘गैरआवासीय नेपालीका नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउँछन्’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तननहरुको हैसियत पनि नेपालीकै हुने बताएका हुन् ।

एनआरएनए र उनीहरूका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरू विदेशी हुन नसक्ने पुनको भनाइ थियो । ‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरू विभिन्न देशमा पुगेका हुन् ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरूको मन छुन्छ’, पुनले भने, ‘तपाईँहरूको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन् ।’

त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको पुनले स्मरण गराए ।

‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरू भए,’, उनले भने, ‘अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ । राजनीतिक बाहेक वंशज वा अङ्गीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरुले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं ।’

नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने उनको भनाइ थियो ।

एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने धारणा उनले राखे ।

एनआरएनएहरुले आफू रहँदै आएको मुलुकस्थित नेपाली दूतावास, वाणिज्य दूतावास वा अनलाइन प्रणालीमार्फत पनि एनआरएनए नागरिकताको आवेदन दिन सकिने लचिलो व्यवस्था राखिएकाले कार्यान्वयनमा जटिलता नआउने विश्वास पुनले व्यक्त गरे ।

अन्तरक्रियाका सहभागीको जिज्ञासाबारे पुनले यसअघि लिएको नेपाली नागरिकता वा नागरिकता नलिएको व्यक्तिका हकमा बाबुआमा, बाजेबज्यैसमेत खुल्ने गरी एनआरएनए नागरिकता वितरण हुने बताए ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com