चेक गणतन्त्रमा एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न

चेक गणतन्त्रमा एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न

प्राग (जस)- गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानीमा १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वांगले गरेका थिए। नेम्वाङले नेपालको संविधान निर्माणमा गैरआवासीय नेपालीहरुको समेत भूमिका रहेको बताउंदै समयानुकूल संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए । उनले गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्तिहरू एक हुनुपर्नेमा जोड पनि दिए । नेकपा माओवादीका सांसद खिमलाल देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको बताए।

समापन समारोहलाई प्रमुख अतिथिको रुपमा परराष्ट्र मंत्री नारायण प्रकाश साउदले नेपालको संविधानमा उल्लेखित गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । उनले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने र एनआरएनहरुका समस्यालाई कानूनी फ्रेमवर्कभित्र राखेर समाधान गरिने जनाए । नेपालमा कृषि, शिक्षा, स्वास्थ्य थप लगानी गर्न उनले आह्वान गरे। त्यस्तै प्रवासी नेपालीहरुको ज्ञान, सीप अनुभव र उद्यमशीलता नेपालको लागि उत्तिकै महत्वपूर्ण रहेको पनि उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए । उनले आगामी दशैँ, तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता पनि ब्यक्त गरे ।

एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा बद्रि केसीले गैरआवासीय नेपालीहरुका लागि छुट्टै एनआरएनए मन्त्रालयको स्थापना गरेर प्रवासी नेपालीका समस्याको समाधान गर्न नेपाल सरकारसंग माग गरे । उनले संगठनलाई विधान तथा सदस्यहरुको भावना अनुसार चलाउनु पर्नेमा जोड दिए ।

एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका बिषय सम्बोधन गर्नमा भएको ढिलाईले प्रवासका नेपालीले धेरै समस्या भोगिरहेको बताए । उनले संविधानमा उल्लेख भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउन नसकेकोमा दुख व्यक्त गरे। ‘एनआरएनहरुले आन्दोलन गर्ने हो भने देशको आर्थिक स्थिति कहाँ पुग्छ? प्रधानमंत्रीले ६ महिनामा गर्छु भन्नु भएको छ। छिटो भन्दा छिटो गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याईयोस,’ उनले भने। आफुहरुले दोहोरो नागरिकताको माग नछाडेको पनि उनले बताए।

सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष, संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा छलफल भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com