
लण्डन् । गैरआवासीय नेपाली संघले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ ।
पर्सी आइतवार साँझ नेपाली समय ५ बजे भर्चुअल प्रबिधी (जुम) मार्फत आयोजना हुने उक्त कार्यक्रमलाई
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने हुनुभएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार गैरआवासीय नेपाली संघले औपाचारिक रुपमा घोषणा गर्ने ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई मन्त्री पौडेलले सम्बोधन गर्ने तय भएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा। उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।
देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
एनआरएनएले शुरु गर्न लागेको पढ्दै कमाउदै परियोजनाको मूल उद्धेश्य विद्यालय स्तरबाट व्यावसायिक शिक्षाको शुरुवात गरी विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनु हो ।
यो परियोजना हिमाली, पहाडी र तराई मधेशका ५ वटा जिल्लामा क्रमशः शुरु गर्ने लक्ष लिईएको छ ।
बढ्दो शैक्षिक बेरोजगारी र ब्यबहारिक शिक्षा बिनाको पढाईले आत्मनिर्भरता कमहुंदै गैरहको परिप्रेक्षमा संघले “पढ्दै कमाउदै कार्यक्रम” शुरुवात गर्ने जमर्को गरेको हो ।
सो परियोजना लागू भए पछि परापूर्व काल देखिनै कृषि पेशामा रहेका र अझै पनि कृषिलाई व्यवसायको रूपमा विकाश गर्न सके देशबाट होनहार युवा शक्ति मात्र होइन राष्ट्रको ढुकुटी समेत विदेशिनबाट रोकिने विश्वास सिमखडाको रहेको छ ।