साउथ अस्ट्रेलियामा उर्लियो सिगों नेपाल

साउथ अस्ट्रेलियामा उर्लियो सिगों नेपाल

Published on

सिड्नी। एनआरएनए साउथ अस्ट्रेलिया राज्य परिषदले आयोजना गरेको चौँथो नेपाल फेस्टिबल ऐडिलेड २०२३ भव्य रुपमा सम्पन्न भएको छ । १८ मार्च शनिवार ऐडेलेड सिटी एल्डर पार्क नजिकै पार्कबाट सुरु भएको र्यालीमा देखिएको सहभागीताले सिगों नेपाल झल्किएको अनुभव दिएको थियो । प्रभातफेरी सहित सुरु भएको महोत्सव कार्यक्रम स्थल एल्डर पार्कमा आई औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

मध्यान्हबाट सुरु भएको सागंीतिक कार्यक्रम अन्तर्गत दिउँसो ३ बजेबाट औपचारिक कार्यक्रम सुरु भएको थियो । महोत्सवमा अस्ट्रेलियामा रहेका सत्ता पक्ष र विपक्षी दलका नेताहरु, एनआरएनएका अभियान्ताहरु, साउथ अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अभिभावक तथा नेपाली र गैर नेपाली समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागीता रहेको थियो । बहुसांस्कृतिक मन्त्री तथा विपक्षी दलका नेता लगायत दर्जन भन्दा बढी अस्ट्रेलियाका राज्यदल र कूटनीतिक नियोगका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले आफु १ वर्षमा ६ वटा नेपाल फेस्टिबलमा सहभागी भएको भन्दै नेपालीहरुले अस्ट्रेलियामा कला संस्कृतिको प्रवद्र्धनका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । उनले अस्ट्रेलियाको सरकारले यी कार्यक्रमहरुलाई सहयोग र प्रोत्साहन गरेको देख्दा खुसी लागेको बताए ।

कला संस्कृति, झाँकी र विभिन्न प्रस्तुतीले महोत्सव सुसज्जित भएको थियो । महोत्सवमा विशेष गरी नेपाल झल्काउने र ग्रामीण भेगमा प्रयोग हुने ढिकी, जाँतो, गुन्द्र बुन्ने तान, नेपाली बाजाहरु, दमाहा, ढोलक, सनही, नेपालको धराहरा लगायतका सामाग्रीहरु समावेश गरि नेपाल हाउस सजाईएको थियो । जसले नेपालको प्राचिन वस्तु र लोपोन्मुख सामाग्रीहरुलाई चित्रण गरेका थिए ।

उक्त सामाग्रीहरु हेर्दै कार्यक्रममा उपस्थित दर्शकहरु र विशेष गरी अस्ट्रेलियाका समुदायका व्यक्तिहरुको फोटो र भिडियो खिच्न भिड लागेको देख्न सकिन्थ्यो । एनआरएनए साउथ अस्ट्रेलियाको झण्डै १ लाख १५ हजार भन्दा बढी खर्च भएकोमा ४२ हजार भने बहुसांस्कृतिक कोषबाट लिन सफल भएको छ । जो अन्य राज्यमा भन्दा निकै राम्रो मानिन्छ । औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात नेपालबाट आएका कलाकारहरु प्रकाश सपुत, टिका प्रशाईँ र प्रिति आले लगायतले बेजोड प्रस्तुती दिएका थिए ।

सागींतिक कार्यक्रममा पार्क टनाटन भरिएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै एनआरएनए अस्ट्रेलियाकी उपाध्यक्ष एवम् साउथ अस्ट्रेलिया राज्य परिषद सयोंजक रेणुका लामाले कार्यक्रम आफुले सोँचे भन्दा पनि झनै राम्रो भएको भन्दै कार्यक्रम सम्पन्न गर्न गठन गरिएका समितिको योगदान निकै राम्रो भएको बताईन् । उनले विभिन्न क्षेत्रबाट कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिईन् ।

कार्यक्रममा स्थानीय मन्त्री तथा कुटनीतिज्ञ व्यक्तिहरुले नेपाली नेपालको मौलिक कला, संस्कृति र भाषा अस्ट्रेलियामा ल्याई साउथ अस्ट्रेलियालाई बहुसांस्कृतिक र विविधतायुक्त बनाउन महत्वपूर्ण योगदान गरेको तथा विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै नेपाली समुदायको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल हाउस, परेड, नेपाली समुदायहरुको तर्फबाट नेपाली कला, संस्कृति, परम्परा देखाउने नाँचका साथमा विभिन्न झाँकी र संस्कृति झल्किने प्रस्तुती रहेका थिए । त्यस्तै नेपाली खानाका स्टलहरु, नेपाल बोल्ने विभिन्न श्रव्य दृष्य सामाग्रीहरुको प्रस्तुती राखिएको थियो ।

कार्यक्रममा नेपालकै बहुचर्चित लोकदोहोरी गायक प्रकाश सपूत, गायिका प्रिति आले, टिका प्रसाईँ, निहारिका ज्ञवाली, नेपाल आईडलका विक्रम बराल सगैं स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रममा ४० स्टल रहेका थिए भने झण्डै १० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकको भनाई छ ।

महोत्सवलाई ‘टरेन्स युनिभरसिटी’ र बुमरेङ इन्टरनेशनल’ ले मुख्य प्रायोजन गरेको थियो । भने साउथ अस्ट्रेलिया सरकार, महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्ड लगायतका नेपाली र अस्ट्रेलियाका सरकारी स्तरका सघंसंस्थाबाट समेत सहयोग र समन्वय रहेको थियो ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com