काठमाडौं । विवाहपछि नीजि जीवनमै व्यस्त अभिनेत्री वर्षा शिवाकोटी ‘वैवाहिक सम्बन्ध’ टुटेपछि भने फुर्सदमा छिन् । उनी अभिनित ‘ए साथी सुन’ आगामी ५ जेठमा रिलिज हुँदै छ ।
दुई वर्षअघि कोरानाकालमा खिचिएको सो फिल्मको प्रचारप्रसार साखै हुन सकिरहेको छैन । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको ट्रेलर सार्वजनिक गरिएको फिल्ममा राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको छ ।
ट्रेलरअनुसार फिल्ममा वर्षा प्रेमिकाको भूमिकामा छिन् । केही दृश्यमा उनलाई खलपात्रले सर्वाधिक यातना दिएको देख्न पाइन्छ । जसले बदलाको कथा संकेत गर्छ ।
लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको चलचित्रमा वर्षाका साथै रमेश बानियाँ, आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतले अभिनय गरेका छन् । कृष्मा खड्का र इभान सञ्जेल बालकलाकारका रूपमा देखिएका छन् ।
निर्माण पक्षको आशा वर्षामाथि देखिन्छ । पछिल्लो समय रिलिज ‘नाई नभन्नु ल ६’देखि ‘कैदीको पत्र’सम्मले बक्स अफिसमा असफलता भोग्नुपरेको समय ‘ए साथी सुन’ले कस्तो व्यापार गर्छ ? प्रतीक्षाको विषय बनेको छ ।
इभान इन्टरटेनमेन्टको प्रस्तुति र सहनिर्मातामा सुदीप पौडेल रहेको चलचित्रलाई बिना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।