चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व राणाको परिवारलाई सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व राणाको परिवारलाई सहयोग

काठमाडौं- स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक वसुन्धरा भुसाल पुग्नुभएको थियो ।

राहत कोषमा रकम जुटाउन पहल भइरहेकै कारण सहयोग गर्दा सीमितता भएको बोर्ड अध्यक्ष केसीले बताउनुभयो । “सरकारसँग बेलाबखतमा कलाकारलाई सहयोग गर्न सकिने कोषमा रकम जम्मा गर्न भनिरहेका छौँ । आश्वासन पनि पाएका छौँ । त्यसो भएमा हामीले राम्रोसँग सहयोग गर्न सक्छौँ”, बोर्ड अध्यक्ष केसीले भन्नुभयो ।

उहाँले कोषबाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था र नीति नियम नरहेकोसमेत जानकारी दिनुभयो । गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुङ्गाबाट उद्धार गरेर उपचारका लागि स्नेही काखले अस्पताल भर्ना गरेको थियो ।

विसं २०४१ मा बनेको चलचित्र ‘अन्याय’बाट अभिनयमा प्रवेश गर्नुभएका अभिनेता राणाले वसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाँया–२, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आइएम सरी, कसले चो-यो मेरो मन, दासढुङ्गा, दागलगायतका सय बढी चलचित्रमा अभिनय गर्नुभएको छ । अभिनेता राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com