महिनौँसम्म पन्छिएन कर्णाली करिडोरको पहिरो

महिनौँसम्म पन्छिएन कर्णाली करिडोरको पहिरो

सडक अवरुद्ध बनेको महिनौँ बितिसक्दा पनि कर्णाली करिडोरको पहिरो अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

करिडोरको खुलालुदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले आफ्नो निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । नेपाली सेनाले सडक हस्तान्तरण गरिसकेपछि रेखदेख र मर्मतको जिम्मा पाएको सडक विभागको बेवास्ताले गर्दा करिडोरको पहिरो पन्छिन सकेको छैन ।

नेपाली सेनाको निर्माण कार्यदलले सडक हस्तान्तरण नहुँदासम्म अवरुद्ध सडक पन्छाउने तथा मर्मत पनि गरिरहेको थियो । निर्माण सकेर सडक विभागलाई बुझाए पनि अहिले कसैको नजर नपरेको स्थानीय आनन्द बमले बताए । उनले भने, ‘निरन्तरको वर्षाले रेंगिल, आमतडा, फुगाडको खोला, लाफा, जारकोटलगायतका ठाउँमा पहिरै पहिरो छ । एक महिनादेखि सडकमा यातायात संचालन हुन सकेको छैन । नागरिक जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् ।’

उनले सडक पन्छाउन कसैको ध्यान नगएको गुनासो गरे । आफ्नो क्षेत्रमा पर्ने पहिरो स्थानीय सरकारले महिनौँ बितिसक्दा पनि पन्छाउन नसकेको उनको भनाइ छ । कहालीलाग्दो करिडोरको सडकका कारण भर्खरै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । सडको यही अवस्थाका कारण यहाँ पटक पटक सडक दुर्घटना हुँदै आएको छ ।

सडक विभागले तत्काल पहिरो पन्छाउनुपर्ने स्थानीयले बताएका छन् । सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई बुझाइसकेपछि उसकै दायित्व भएको तर अहिलेसम्म कुनै चासो देखाउन नसकेको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । उनले भने, ‘अहिलेसम्म नेपाली सेनासँग सहकार्य गरेर अवरुद्ध सडक पन्छाउँदै आइरहेका थियौँ । अहिले निरन्तरको वर्षाले गर्दा सडक पन्छाउन नसकिएको हो ।’

पहिरो पन्छाएर मात्र यातायात संचालन हुने अवस्था नभएको, करिडोरको फुगाड खोलामा पुल निर्माण नहुँदासम्म पूर्ण रूपमा सडक सुचारु नहुने उनले बताए । यसका लागि सडक विभागले तत्काल पुल निर्माणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

उता, सडक विभागले वर्षा रोकिएपछि मात्र अवरुद्ध सडक खोल्न सकिने बताएको छ । वर्षा निरन्तर भइरहेकाले अहिल्यै सडक पन्छाउन संभव नहुने भएकाले वर्षा रोकिएपछि सडकको अवस्थाबारे अनुगमन गरेर फुगाडको पुल र अन्य सडक निर्माणमा लाग्ने विभागले जनाएको छ ।

फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माण गरिरहेको क्षेत्रमा निरन्तर पहिरो बगिरहेकाले पहिरो पन्छाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ । वर्षा केही दिन रोकियो भने आफ्नो क्षेत्रमा आएको पहिरो आफैँले पन्छाउने आयोजनाले जनाएको छ ।
करिडोर मात्र होइन, स्थानीय ग्रामीण सडकहरू पनि पहिरोले क्षतबिक्षत बनिसकेका जनाइएको छ । करिडोर भएर गाउँमा संचालन हुने यातायातका साधनहरू अहिले ठप्प छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com