....त्यसपछि घर छाडेर डेरा सर्नुपर्‍यो

....त्यसपछि घर छाडेर डेरा सर्नुपर्‍यो

लगातारको झरी थामियो । आकाश खुलेको छ परपरसम्म । एक-दुईवटाबाहेक बादलका टुक्रा देखिँदैनन् आकाशमा । झरीले निथ्रुक्कै हुने गरी भिजेको भिमाद बजार मनमोहक लाग्छ ।

हो, धेरै दिनपछि भिमादको मौसमले लोभ्याउँदै छ ।

झरि थामिएर मौसम उघ्रिएपछि मान्छेहरू सहजै आफ्नो दैनिकीमा फर्किए । दिनभर, रातभर लगातारको झरीले हैरानी बेहोरेका स्थानीय पनि खुलेका छन् ।

तर, प्रकाश कलकलको मन भने अझै खुलेको छैन । झरी पर्नुअघि धुम्मिएको आकाशभन्दा कम्ता भएको छैन उनको मन । कारण, उनी जन्मेर हुर्के, बढेको घर झरीले जोखिममा पारेको छ ।

दिउँसोको साढे १ बजेको छ घडीमा । खित्रिङमित्रिङ सरसामान लिएर सुरक्षित ठाउँतिर सर्दै छ, कलकल परिवार । भिमाद नगरपालिका- ६ कुमारचोकमा वर्षौं पुरानो होटेल चलाउँछन् उनले ।

यस घरसँग सुखदुःख मात्र जोडिएको थिएन उनको । पुर्खाको चिनो पनि जोडिएको छ । त्यसैले त पुर्ख्यौली घर छाड्नुपर्दा उनको मन भारी छ । उमेरले छ दशक टेक्न लागेका कलकल धन्न ! भाग्यले बाँचे ।

सेती नदीको माथिल्लो भाग, भिमाद बजारको कुमारचोकमा घर पछाडिको भाग लगातारको झरीपछि सेतीमै मिल्यो । उनको घरमै पहिरो जोडिएको छ । घरको पछाडिपट्टिको भाग पहिरोले निल्यो ।

शौचालय र भाँडाकुँडा सबै सेतीमै खसे । राती ३ बज्न लागेको हुँदो हो पहिरोले शौचालयको टिन सेतीको किनारमा बजारिँदा मस्त निद्रामा सुतेका प्रकाश एक्कासि ब्युँझिए ।

घर छाड्न उनलाई रहर थिएन, बाध्यता आइलाग्यो । निष्ठुरी प्रकृतिले विपत्ति निम्ताइदियो । उठेर हेर्दा कोठाभन्दा पर बाँकी केही रहेन । त्यहाँ बस्न जोखिम भएपछि नजिकै डेरा खोजेर सर्दै गरेको प्रकाशले सुनाए ।

‘घर बस्न मिल्ने भएन । अर्को घर बनाएको छैन । बाहालमा बस्न जान लागेको । धन्न ! एउटा कोठा पा’को छु । यहाँ बस्नलाई डरलाग्दो भो, बाँच्न त पर्‍यो नि !’, उनले भने ।

उनले बडो संघर्षले बनाएको घर बस्न मिलेन । बेलामै नदी किनारमा तटबन्ध लगाएकोे भए यो अवस्था नआउने उनको भनाइ छ । ‘पहिला तलबाट उठाएर तटबन्ध हुन्छ भनेझैँ गरिदिएको भए धेरै राम्रो हुन्थ्यो केरे ! त्यो बेला नि एक करोड आ’छ बजेट भन्नी सुनाए, काम पनि भएन । अहिले सरकारले वास्तै गर्न छाड्यो’, उनले भने ।

प्रकाशको घर पछाडिको जमिन सेतीमा मिसिएपछि छिमेकीको घर पनि जोखिममा छ । कुन बेला घर खस्ने हो, टुलुटुलु हेरेर बसेका छन् । जोखिम बढेपछि धेरैले घर छाडे । घर सर्न नसक्नेहरू पहिरोसँगै जोडिएको घर रुङेरै बसेका छन् । कुन बेला घर सेतीको तिरमा झर्छ अनि व्यवस्था गरौँला भन्नेमै छन् उनीहरू ।

उसै त झरीले जमिन कमजोर छ । सवारीको भारले पहिरो खस्ने डर उत्तिकै छ । त्यसैले मूल सडकमा अहिले सवारी आवागमन रोकिएको छ ।

पछिल्लो एक सातायता परेको निरन्तरको वर्षाले ठाउँठाउँमा पहिरो खस्यो । कुमारचोकका करिब एक दर्जन घर पछाडिबाट पहिरो खसेको छ । धन्न ! एक इन्चले घर बचेका छन् ।

तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तैपनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् व्यापारीहरू ।

पहिरोले जोखिम बढाएपछि दिनभर व्यापार गर्ने र रातमा बास बस्न अन्तै जानेको गरेको माया हिराचनले बताइन् । ‘पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत थियो । अहिले पहिरो खस्दाखस्दा शौचालय पनि छैन । दिउँसो व्यपार गरे पनि राती यहाँ बस्न सक्दैनौँ’, उनले भनिन् ।

दिउँसो पनि कुन बेला पहिरो खस्छ, केही भर छैन । किन जोखिम मोलेर व्यापार गरेको ? भनेर सोध्न नभ्याउँदै उनको जबाफ थियो, ‘बाध्यता हो नि ! अन्त हाम्रो व्यापार गर्ने ठाउँ छैन । पानी पर्न थालेपछि डराईडराई व्यपार गरिन्छ । दिनमा बसे पनि राती यहाँ बसिन्नँ ।’

वडा अध्यक्ष श्यामसुन्दर जोशीका अनुसार २०५२ सालदेखि सेतीमा पहिरो खस्न थालेको हो । प्रायः घरबाट सेतीको डिलसम्म १५ मिटरसम्मको दूरी थियो । तर, अहिले निकै कम छ । ४१ वटा घर बस्नै नमिल्ने गरी जोखिममा रहेका वडा अध्यक्ष जोशीले बताए ।

गत साल नै हामी टेन्डर लगाउँछौँ, ठेकदारले पेस्की बुझेर बस्छ, भदौ-असोजदेखि काम सुरु हुन्छ भनेपछि हामी ढुक्क भएर बस्यौँ । टेन्डर पनि भएन । अहिले प्रदेशले जम्मा ३० लाख रुपैयाँ बजेट हालिदिएछ ।

यसरी नै पहिरो खसिरहे नदीतर्फको मात्र नभएर कुमारचोकको पूरै बस्ती जोखिममा पर्ने उनी बताउँछन् । नदी कटान र पहिरो रोक्लाई बर्सेनि वडा र नगरले बजेट विनियोजन गरिरहेको उनको भनाइ छ ।

प्राकृतिक विपत्ति रोकथामका लागि सानो बजेट छुट्याउँदा उल्लेखनीय काम नभएको उनले बताए । ‘नगरको बजेटले नपुग्ने, संघ र प्रदेशले विनियोजन नगर्दा बृहत् तटबन्धको काम भएको छैन’, उनले भने ।

बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत वर्ष नै डीपीआर तयार गरेको तर काम सुरु नभएको उनले बताए । गत वर्ष प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

‘गत साल नै हामी टेन्डर लगाउँछौँ, ठेकदारले पेस्की बुझेर बस्छ, भदौ-असोजदेखि काम सुरु हुन्छ भनेपछि हामी ढुक्क भएर बस्यौँ । टेन्डर पनि भएन । अहिले प्रदेशले जम्मा ३० लाख रुपैयाँ बजेट हालिदिएछ । प्रदेश सरकारले के गरेको हो ?’, उनले भने ।

नदी तटबन्धनको काम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँ मातहातमा छ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धका लागि १७ करोड रुपैयाँको डीपीआर तयार भएको हो । डीपीआर स्वीकृतिका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र पठाएको कार्यालयकी प्रमुख सिनियर डिभिजन इञ्जिनियर दीपा गौतमले बताइन् ।

‘हाम्रो कार्यालयको समग्र बजेट १५-१६ करोडभन्दा हुँदैन । ठूलो रकमको योजना भएकाले मन्त्रालयमा विचाराधीन छ’, उनले भनिन् । संघीय सरकारले बजेट पठाएको खण्डमा तुरुन्त काम सुरु गर्ने उनको दाबी छ । सेती नदी तटबन्धका लागि संघीय सरकारले ३० लाख रुपैयाँ र प्रदेशबाट ४० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिइन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com