काठमाडौं । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।
सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ ।
खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।