
काठमाडौं । पोखरामा भएको यती एयलाइन्स दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना गैरआवासीय नेपाली (एनआरएन ) रहेका छन् । गैरआवासीय नेपाली संघका अनुसार अमेरिकाबाट पोखरा घुम्न आएका ४ जना र हङकंङबाट नेपाल घुम्ना आएका ९ जना रहेको खुलेको छ ।
अमेरिकाबाट पोखरा घुम्न गएकी अर्को एक यात्रुको पनि दुर्घटनामा निधन भएको पुष्टि भएकोे छ ।
यसरी ज्यान गुमाउने चौथो यात्रु अमेरिका टेक्सासकी २१ बर्षिया बन्दना सुनार हुन्।
उनी बिरामी हजुरआमा भेट्न केही समयपहिले भाइलाई लिएर नेपाल गएको बताइएको छ।
काठमाडौंको एक अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनी माघ १ गते यती एयरलाइन्सको विमानबाट पोखरा जाँदै थिइन् ।
बिगत ६ बर्षदेखि भाई र दिदीसँगै अमेरिकाको टेक्सासमा बस्दै आएकी बन्दनाको बुबाको केही बर्ष अगाडि क्यान्सरबाट निधन भएको थियो।
यसअघि नै अमेरिकाको अलास्काबाट नेपाल घुम्न गएका काठमाडौं स्वयम्भूका हरि परियार, कास्की हेम्जा हनुमानचोकका राजन सापकोटा र धम्पुसका शिव गुरूङको निधन भएको समाचार बाहिरिसकेको छ।
हरि परियारसँगै श्रीमती लक्ष्मी, १६ वर्षीया छोरी रिता र १४ वर्षीय छोरो कृशको पनि मृत्यु भएको थियो भने राजनसँगै श्रीमती आशिका र शिवसँगै श्रीमती अनुश्काको पनि मृत्यु भएको समाचार बाहिरिएको थियो। गैरआवासीय नेपाली संघकी सचिव टिका गुरुगंका अनुसार हङकंङबाट नेपाल घुम्न आएका ९ जनाको मृत्यु भएको छ ।