एक वडाको मतगणनालाई ४० घण्टा !

एक वडाको मतगणनालाई ४० घण्टा !
RSS

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ ।

वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ । वडा नं १ मा तीन हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले सुनाउनुभयो । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन ।

हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ । आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ ।

वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा ९एमाले०ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा ९एकीकृत समाजवादी० पार्टीमा हुनुहुन्छ । उहाँ यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरहनुभएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार उहाँ तेस्रो स्थानमा रहनुभएको जनाइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com