
काठमाडौं । एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आइतबारदेखि सञ्चालन भएको छ।
काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’का रूपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ।
डेढ वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि यो पुल सञ्चालनमा आएको थिएन। एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत नेपालतर्फ एसियाली राजमार्गमा यही एउटा पुल र पाँच सय मिटरको पहुँच मार्ग मात्र निर्माण भएको छ।