ठगी गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना जेल चलान

ठगी गरेको आरोपमा पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौँ । विदेशी नागरिकलाई ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ठगी, सङ्गठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश दिएको हो।

शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मागत काफ्ले र रङ्गबहादुर साउद जेल चलान भएका हुन्। पक्राउ परेकी विनीता तामाङसँग भने अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

यसरी ३८ करोड ८६ लाख रुपैयाँ ल्याएर उनले खर्च गरेका थिए। उनले त्यसरी ल्याएको थप रकम राष्ट्र बैंकले अनुसन्धानका लागि भन्दै लामो समय रोक्का राखेपछि यो प्रकरण बाहिर आएको थियो। राष्ट्र बैंककै पत्राचारका आधारमा उनीहरू पक्राउ परेका हुन् । यो घटनामा अन्य १३ जनाविरुद्ध फरार प्रतिवादीका रूपमा अभियोजन दर्ता भएको छ।

अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अपराधको पैसा उनले कम्पनीका नाममा भित्राएको सिआइबीले जनाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com