
काठमाडौं । बैतडी र सिन्धुलीमा भएको छुटाछुट्टै दुर्घटनामा परी १० जनाको निधन भएको छ । मंगलबार राति बैतडीमा भएको दुर्घटनामा ६ जना र बुधबार बिहान सिन्धुलीमा भएको दुर्घटनामा ४ जनाको निधन भएको हो ।
बैतडी जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु
खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भारतमा रोजगारी गरेर नयाँ वर्ष (विशु) का लागि घर फर्कंदै गरेका बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६ जनाको मृत्यु भएको हो । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर योगेश खत्रीले बताउनुभयो । चालक सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा कार दुर्घटनाः चार जनाको मृत्यु
विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो । तर कार सडकबाट भिरमा खसेकाले उद्धारमा कठिनाई भएको र शब निकाल्ने कार्य जारी रहेको छ ।
गाडीमा सवार रहेका पाँच जनामध्ये ४ जनाको मृत्यु भएको र १ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।