‘नक्कली’ बाबु बनेर वीरगञ्ज महानगर प्रमुख सिंहले किशोरीलाई नागरिकता दिलाए

‘नक्कली’ बाबु बनेर वीरगञ्ज महानगर प्रमुख सिंहले किशोरीलाई नागरिकता दिलाए

काठमाडौँ । वीरगञ्ज महानगरकापालिका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको पाइएको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी पनि परेको छ । २०७५ साल साउन १३ गते वीरगञ्ज महानगर–३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख गरिएको छ ।

२०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले रुविना श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् । रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने नखुलाइएको बताइएको छ । नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख गरीएको छ । वीरगञ्ज महानगर– ३ स्थायी ठेगाना भएका महानगर प्रमुखको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठमात्रै रहेका छन ।

सिंहले राजनीतिक फाइदाका लागि अरुको सन्तानलाई झुटो विवरण पेस गरेर आफ्नो नामबाट नागरिकता दिलाएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । पहिलो पटक २०७५ साल साउन १३ गते षड् कुमार पोखरेलद्वारा नागरिकता जारी गर्दा जिल्ला प्रशासन कार्यालय पर्सामा लोकनाथ पौडेल प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षाका लागि अष्ट्रेलिया गईसकेको स्रातेले जानकारी दिएको छ । पुरानो ढड्डाको आधारमा प्रतिलिपि नागरिकता जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिएका छन ।

उनले भने, ‘ वडा कार्यालयबाट आएको सिफारिसका आधारमा सम्पूर्ण प्रमाणलाई केलाएर तत्कालीन समयमा नागरिकता जारी गरेको देखिन्छ, उहाँले प्रमाणसहित मेरो छोरी हो भनेर आएपछि हामीले के गर्न सक्छौँ र ?, ‘यो विषय अब थप अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’ महानगर प्रमुख सिंहले रुविनालाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पूरा गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

सिंह रुविनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकी बताउँछन् । रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका–३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदा वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।

वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरेका छन । ‘मेरो वडाबाट सिफारिस भएको बारेमा मलाई थाहा छैन,’ उनले भने । पर्साका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए । ‘नक्कली बाबु बनेर किशोरीलाई नागरिकता दिएको विषयमा सूचना आएको छ, के कसो भएको हो भन्नेबारे खोजबिन हुन्छ,’ प्रजिअ भुसालले भने ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com