द्वन्द्वकालीन घटनामा नेपाली सेनाविरुद्ध जाहेरी

द्वन्द्वकालीन घटनामा नेपाली सेनाविरुद्ध जाहेरी

काठमाडौं । माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै पोखरा महानगरपालिका–३० का अणनाथ बरालले सेनाविरूद्ध जाहेरी दिनुभएको छ ।

आज जिल्ला प्रहरी कार्यालय कास्की पुगेर बरालले तत्कालीन शाही सेनाको फूलबारी व्यारेकका सुबेदार कृष्णबहादुर गुरूङविरूद्ध जाहेरी दिनुभएको हो । गुरूङको कमाण्डमा सादा पोशाकमा रहेका सेनाको टोलीले छोरा नेत्रप्रसाद बराललाई पक्राउ गरी बेपत्ता पारेको जाहेरीमा उल्लेख छ ।

गुरूङ नेतृत्वको सेनाले नेत्रप्रसादलाई गैरकानूनी पक्राउ तथा थुना, यातना र बलपूर्वक बेपत्ता पारेको जाहेरीमा भनिएको छ । बरालका अनुसार तत्कालीन भरतपोखरी गाविस–७ डाँडागाउँमा जन्तरे भन्ने साथीको घरबाट सेनाले २०६० कात्तिक १९ गते बिहान ५ बजे नेत्रप्रसादसहित ४ जनालाई पक्राउ गरेको थियो ।

नेत्रप्रसादसहित पक्राउ परेका अन्य तीन जनालाई भने सेनाले सार्वजनिक गरिसकेको छ । यसअघि बरालले छोरा बेपत्ता बनाएको भन्दै २०६२ साल असोज १ गते नै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गर्नुभएको थियो ।

२०७८ सालमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन खोजेपनि नमानेपछि मंसिरमा उच्च अदालत पोखरामा निवेदन दिनुभएको थियो । निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले २०७९ मंसिर १३ गते जाहेरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएसँगै बराल दम्पतीले मुद्दा दर्ता गराएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com