काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ ।
आज बिहीवार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको हो ।
उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताउनु भयो । उहाँले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताउनु भयो ।
उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउनु भयो ।
काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो ।
उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गर्नुभयो । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उहाँको भनाई छ । उहाँले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सत्तागठबन्धनकै सरकार बनाउने बताउनु भयो । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले बताउनु भयो । त्यसका निम्ति काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाउनुभएको उहाँले उल्लेख गर्नुभयो ।
सहमतिमै सरकारको नेतृत्वको चयन हुने उहाँले स्पष्ट पार्नुभयो ।