
काठमाडौं । नेपालमा आज बिहिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २५२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा पाँच जनाको नतिजा पोजेटिभ आएको हो । ७०७ नमुनाको पीसीआर परीक्षण गर्दा चार र ५४५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ३६६ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४५३ रहेको मन्त्रालयले जनाएको छ ।