बाजुरा, दोलखा र स्याङजामा मतगणना सुरु भएन

बाजुरा, दोलखा र स्याङजामा मतगणना सुरु भएन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्त्यतिर पुग्न लाग्दा पनि ३ जिल्लामा अझै मतपेटिका खोलिएको छैन ।

बाजुरा, दोलखा र स्याङजामा राजनितिक दलहरूबीचको विवादका कारण मतगणना हुन नसकेको हो । बाजुराको बुढीनन्दा ५ लगायत जिल्लाका दुई दर्जन मतदान केन्द्रमा विवाद र झडप भएको थियो ।

सो जिल्लामा भएको एक मतदान केन्द्रको झडपमा परी काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता सञ्जिव ऐडी र एमालेको विद्यार्थी संगठनका नेता चेतन ऐडीको निधन भएको थियो ।

बुढीनन्दामा भोली पुनः मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपनि एमालेको अवरोधका कारण जिल्ला निर्वाचन अधिकृतको कार्यालयले भोली निर्वाचन गराउन सक्ने अवस्था नरहेकोले अनिश्चित बनेको छ ।

दोलखामा एमालेले मतगणना कार्यमा सहभागी नहुने भन्दै पुनः मतदानको माग गरेको छ । जिल्लाका विभिन्न ६ मतदान केन्द्रमा बुथ कब्जा भएको एमालेको आरोप छ ।

दोलखाबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङले बुथकब्जा भएका मतदान केन्द्रमा पुन मतगणनाको माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएको बताउनुभयो ।

दोलखाको तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिकामा धाँधली भएको एमालेको आरोप रहेको छ । यस्तै स्याङजामा पनि बुथ कब्जा भएको भन्दै एमालेले मतगणना अघि बढाउन दिएको छैन ।

जिल्लाका विभिन्न ४ मतदान केन्द्र कब्जा गरेर मत हालेकोले ती बुथमा फेरि निर्वाचन गर्न एमालेको माग छ । एमाले सचिव समेत रहनुभएका पद्मा अर्यालले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गराउन माग गर्नुभएको छ ।

मतगणना हुन नसकेका ३ जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठाएको छ । आयोगले सहसचिव तहको कर्मचारीको नेतृत्वमा छानबिन टोली पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com