वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी

वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी

काठमाडौं । साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरुमा वृहत पुस्तक प्रदर्शनी गरिरहेको छ ।

साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो)सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । हालसम्म प्रदर्शनीमा करिव १ हजार जनाभन्दा बढी मानिसहरुले अवलोकन गर्नुभएको उहाँले बताउनु भयो ।

उहाँले प्रदर्शनीबाट मुख्यगरी इतिहासका पुस्तकहरु धेरै बिक्री भइरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘अहिले इतिहासका पुस्तकहरु धेरै गइराखेका छन् । हामीले पहिले इतिहासका पुस्तकहरु छापेर राख्नुपथ्र्यो धेरै वर्षसम्म बिक्री भएनन् । यि बिक्री नहुने नै पो हुन् कि भन्ने लाग्थ्यो हामीलाई । तर अहिले इतिहासका पुस्तक मान्छेले खोजेर, रोजेर लिएर गइराख्नुभएको छ ।’

प्रदर्शनीमा आफ्नो रुची अनुसारका पुस्तकहरु खोज्दै दैनिकहरुमा मानिसहरु आइरहेका उहाँको भनाई छ । पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुग्नुभएकी पूर्णिमा गिरी आफूले हाल पुराना लेखकहरुको पुस्तक पढीरहेको र सोही अनुरुपका पुस्तकहरु लिनका लागि प्रदर्शनीमा आएको बताउहुन्छ । उहाँले डिजिटल प्रविधिका कारण युवा पुस्ताहरुमा पठन संस्कृति कम हुँदै गएको सुनिएपनि भित्रि मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरुले पुस्तक पढ्ने गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘म पढ्नुपर्दछ भन्ने विचार राख्दछु । त्यसैले कितावहरु लिन आउँछु । पुरानो लेखकहरुको किताव पढीरहेको छु । उहाँहरुको कितावलाई प्राथमिकतामा राख्छु । जो मानिसहरुलाई भित्र मनदेखि पढ्नुपर्छ भन्ने लाग्छ उनीहरुले पढ्न छोडेको छैन । त्यो संख्या थोरै होला तरपनि पढ्नेहरुले पढिरहेकै छन् ।’

त्यस्तै पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुग्नुभएका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका कितावहरुको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताउनु भयो । आफ्नो ज्ञानको क्षमता बढाउनका लागि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरु पनि पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com