काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि बुधबार निर्वाचन हुने भएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो ।
त्यसबारे तयारी अघि बढाउन आज (सोमबार) बिहान पनि निर्वाचन समितिको बैठक बसेको थियो । समितिकी सदस्य पुष्पा भुसालले संसदीय दलको नेताको चुनाव बुधबार बिहान ८ बजेदेखि गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
राष्ट्रपतिले यहि पुस १० गते भित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँड गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथ ग्रहण गर्नु अगावै संसदीय दलको निर्वाचन गर्न लागेको हो ।
संसदीय दलको विधान बमोजिम कांग्रेसमा दलको नेता बन्न एक जना भन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा लगायतले दलको नेतामा चुनाव लड्ने बताउदै आएका छन् । संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित ८९ जना सांसद मतदाता हुन्छन् ।