बाग्लुङका किसानले चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याए

बाग्लुङका किसानले चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याए

बाग्लुङ । यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याएका छन् ।

बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् ।

उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पती बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छ । सहरीया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ । छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बजारीकरण थालिएको हो । अन्य सागबाट भन्दा यसको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोसिलो मानिन्छ ।

आफन्तलाई कोसेलीको रुपमा मात्रै गाउँ बाहिर जाँदै आएको यो अब भने किसानको आम्दानीको स्रोत बन्ने छ । “हामीले पुर्खाका पालादेखिनै खाँदै आएको हो, आफन्तलाई कोसेली मात्रै पठाइन्थ्यो, अब बिक्री गरेर आम्दानी गर्न लागेका छौँ”, छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले भन्नुभयो, “एकाध घरबाट पाथीमा बिक्री हुँदै आएको बाँकोलाई प्याकिङ गरेर किलोग्राममा बिक्री गर्न थालिएको छ ।”

दमेकका झण्डै पाँच सय घरमा यो भित्रिन्छ तर, कसैले पनि यसलाई व्यावसायिक बनाएका थिएनन् । “हरेक घरमा आठरदश किलो हरेक वर्ष भित्रिन्छ, घरमै खाएर मात्रै सकिँदैन, बजारमा माग छ तर पुर्‍याउन सकिएको थिएन”, छन्त्याल भन्नुहुन्छ, “हामीले समूहमार्फत प्याकिङ र ब्राण्डिङ गर्ने काम थालेका छौँ ।”

चालु आर्थिक वर्षमा आठ सय किलो बाँको बजार पठाउने तयारी गरेको समूहले सय ग्रामका प्याकेट तयार गरेको छ । एक प्याकेटको मूल्य तीन सय ५० रुपैयाँ कायम गरिएको छ । “एक पाथीलाई आठ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “किसानका दुःख हेर्ने हो भने मूल्य अझै कम हो ।”

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com