नेतृत्व परिवर्तनका लागि मलाई संसदमा निर्वाचित गरेर पठाउनुस् : गगन थापा

नेतृत्व परिवर्तनका लागि मलाई संसदमा निर्वाचित गरेर पठाउनुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गर्नुभएको छ ।

आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको चुनावमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो ।

पार्टीको काभ्रे–काठमाण्डौ सम्पर्क समन्वय समितिले आज मङ्गलवार आफ्नै निर्वाचन क्षेत्र नम्बर काठमाण्डौ–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफूले चुनाव जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुने र मतदाताले चाहेअनुसारको नेतृत्व परिवर्तन हुने बताउनुभएको हो । त्यसका लागि काठमाण्डौ–४ का अगुवाले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा चुनावमा प्रतिस्पर्धा गर्ने पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले आफूलाई सांसदमा निर्वाचित गराएर पठाए १० वर्षमा देशको राजनीतिलाई पूरै सुधार गर्ने जिकिर पनि गर्नुभयो ।

महामन्त्री थापाले अबको चुनावपछि पनि सांसदले मतदाताको प्रतिष्ठा राख्ने काम नगरे देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिनुभयो ।

जनप्रतिनिधिले अब पनि चुनावमा मतदातासँग गरेको वाचाअनुसार काम नगरे उनीहरूले फेरि चुनावमा उठ्न नपाउने पनि उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले सत्तारूढ गठबन्धनले चुनावमा बहुमत ल्याउने दाबी पनि गर्नुभयो । चुनाव जितेपछि पाँच वर्षसम्म एकताबद्ध भएर नागरिकको भावनाअनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र देश बरबाद हुने बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com