गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ध्यान केन्द्र उद्घाटन हुँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ध्यान केन्द्र उद्घाटन हुँदै
en.wikipedia.org

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको एकै दिन उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती दुई आयोजनाको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यो विमानस्थल सञ्चालनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलले अन्तर्राष्ट्रियजगत्सँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।

सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ । करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुनेछन् । बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्ने महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

www.nepalpana

तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्याङ्की, बगैँचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।

विसं २०७१ को माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो । विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ । विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् । विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब रु ३२ अर्ब पुगेको बताइएको छ ।

tourismmail.com

सोमबार नै लुम्बिनीमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ । २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ का अवसर पारेर प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्न लाग्नुभएको हो । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । केन्द्रको उद्घाटनपछि बुद्धपूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना हुनेछ । समारोहमा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नुहुनेछ ।

ध्यानकेन्द्रमा एकैपटक पाँच हजार जना अटाउने छाता शैलीको हलको छाना गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिको जडान गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । केन्द्रको चारैतिर पर्खाल लगाइएको छ भने पर्खालभित्र बुद्धका विभिन्न आकर्षक प्रतिमाहरू राखिएका छन् । योजना प्रमुख भट्टराईका अनुसार ७५० मिटर लम्बाइको कम्पाउन्ड वालको साढे सात÷सात मिटर फरकमा ९७ बुद्धमूर्ति राखिएका छन् । उक्त सभाहल निर्माणमा पहिलो चरणमा रु ३३ करोड र दोस्रो चरणमा करिब रु २७ करोड खर्च भएको बताइएको छ । उक्त सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com