
काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् ।
गुरुङ समुदायहरुले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाएका हुन् ।
काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् भने देशका अन्य स्थानहरुमा पनि आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाएका हुन् ।
काठमाडौंमा ल्होसार मनाउन काठमाडौं नजिकका विभिन्न जिल्लाहरुबाट समेत गुरुङ समुदाय उपस्थित भएका थिए । सो अवसरमा गुरुङ समुदायका विभिन्न सांस्कृतिक नाचदेखि झाँकीसमेत देखाइएको थियो ।
ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थिति रहेको थियो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।
आज केन्द्रिय काठमाडौंमा रहेका गुरुङ समुदायले वसन्तपुरदेखि टुँडिखेलसम्म सांस्कृतिक प्रदर्शनी गर्दै तमु ल्होसार मनाएका छन् ।
आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएका सो समुदायका मानिसहरूले नाचगान गर्दै काठमाडौंको सडक रंगिन बनाएका थिए । तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।