काठमाडौं । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका कार्कीले आज बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित भएसँगै आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताउनुभयो । उहाँले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आउँदो पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताउनुभयो ।
मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदाताले मलाई जुन विश्वासका साथ निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरू अभिवृद्धि गरेर लिएर जान्छु । उहाँहरूको विश्वासलाई म घात गर्ने छैन । यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले यो क्षेत्रमा धेरै काम गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अझ बढी काम गर्नेछु ।’
मन्त्री कार्की ३० हजार चार सय ८३ मतका साथ सुनसरी ४ बाट विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गर्नुभएको छ । मन्त्री कार्कीले कुसियैतलाई एक सय १२ मतान्तरले पराजित गर्नुभएको छ ।