
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनुभएको छ ।
गठबन्धन चितवनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।
ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उहाँले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताए । विजयीको जस पनि चितवनका जनताले लिन पाउने उहाँको भनाइ छ ।