काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनु भयो ।
अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनु भयो । उहाँले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनु भयो ।
उहाँले यसको बिरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनु भयो ।
भ्रष्टीकरणबिरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिनुभयो ।