निर्वाचन आयोगद्वारा चुनावबारे कूटनीतिक नियोगलाई जानकारी

निर्वाचन आयोगद्वारा चुनावबारे कूटनीतिक नियोगलाई जानकारी
Kathmandu Post

काठमाडौं । आसन्न निर्वाचनकोबारे निर्वाचन आयोगले नेपालमा रहेका कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।

आयोगले आज सोमबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई चुनावबारे जानकारी गराएको हो ।

आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । उहाँले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

उहाँले चुनावमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भट्टराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई चुनाव अनुगमनको अधिकार प्रदान गरिएको र चुनावमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com