रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान

 रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान
RATNA SHRESTHA

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्रान्ड कोर्डन : दि अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मान गरेको छ। जापानले यसअघि नै घोषणा गरेको सो विभूषण बिहीबार काठमाडौंस्थित जापानी दूतावासमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई हस्तान्तरण गरे।

जापानी दूतावासका अनुसार पौडेललाई प्रदान गरिएको उक्त विभूषण विदेशी नागरिकलाई जापान सरकारले दिने सबैभन्दा उच्च तहको सम्मान हो।

जापानका सम्राट मेइजीले सन् १८७५ मा उक्त विभूषणको स्थापना गरेका थिए। पौडेललाई सभामुख हुँदा नेपाल-जापान संसदीयमैत्री समिति संघ गठन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपाल-जापान सम्बन्धलाई बलियो बनाउन खेलेको भूमिकाको आधारमा उक्त विभूषण उनलाई प्रदान गरिएको राजदूत किकुताले बताए।

जापानका सम्राट नरुहितोले हस्तान्तरण गर्नुपर्ने उक्त विभूषण कोभिड-१९ का कारणले गर्दा सन् २०२० मै दिइसक्नुपर्ने थियो। तर‚ कोभिड-१९ संक्रमण कम भएपछि अहिले दूतावासबाटै पुरस्कार दिइएको हो।

पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत हुन्। उक्त संघ सन् १९९९ मा गठन भएको थियो।

सम्मान ग्रहण गरेपछि पूर्वसभामुख पौडेलले जापानी सम्राट नरुहितो र जापान सरकारलाई धन्यवाद दिए। उनले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन आफूले लेखेको भूमिकालाई कदर गरेर सम्मान गर्दा खुसी लागेको बताए।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com