जिल्ला अदालत काठमाडौंबाट फरार खड्का जडिबुटीबाट पक्राउ

जिल्ला अदालत काठमाडौंबाट फरार खड्का जडिबुटीबाट पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट फरार भएका थुनुवा कमल खड्का जडिबुटीबाट पक्राउ परेका छन् ।

बिहीबार बिहान ८ बजे काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित न्यू दोलखाली गेस्ट हाउसबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महारागन्जका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्री र जिल्ला प्रहरी परिसर टेकुबाट खटिएको संयुक्त टोलीले खड्कालाई पक्राउ गरेको हो । उनले लगाएको हत्कडी र थुनुवा ज्याकेट भने उनको भक्तपुर, चाँगुनारायण-१ दुवाकोटस्थित कोठामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका उनी अदालत परिसरबाटै फरार भएका थिए । डलर ठगीको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय कमल खड्कालाई बुधबार बिहान १० बजे प्रहरीले अदालतमा उपस्थित गराएको थियो। थुन्छेक बहस प्रयोजनका लागि पत्र बनाउने क्रम चल्दै गर्दा अदालतभित्रको सबै सुरक्षा घेरा पार गर्दै हत्कडीसहित फरार भएका थिए।

गत मङ्सिर १४ गते प्रहरी वृत्त स्वयम्भूले पनि उनलाई पक्राउ गरेको थियो । अभद्र व्यापारमा स्वयम्भुले मुद्दा चलाउने क्रममा उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका थिए । त्यहीबेला यता महाराजगंज वृत्तमा पनि डलर सटहीको नाममा उनले १० लाख ठगी गरेको अनुसन्धान चलिरहेको थियो।

सोही मुद्दामा प्रहरीले उनलाई कारागारबाट झिकाएर बयान लिएर बुधबार बिहान थुन्छेका लागि अदालत उपस्थित गराएको थियो । तर उनी फरार भए लगत्तै प्रहरीले काठमाडौँ उपत्यकाभरि खोजीकार्य व्यापक बनाएको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com