नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक

नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक

काठमाडौं । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । आज शुक्रवारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् ।

मगर समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ ।

माघे संक्रान्ती पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् ।

शुक्रवारबाट उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रश्तुत गरेका छन् । टुँडिखेलमा उनीहरुले मगर समुदायका मानिसहरु एक ठाउँमा जम्मा भएर सामुहिक रुपमा नाचगान गरिरहेका छन् ।

औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् । नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ ।

मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ती भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन् ।

मौलिक कला–संस्कृतिका हिसावले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे संक्रान्ती चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ । नयाँ यामको शुरुवात माघे संक्रान्तीका दिनदेखि उभौँली शुरु भई साउने संक्रान्तीमा समापन हुने र सोही दिनदेखि उँधौली शुरु हुने प्रचलन छ ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मुलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।
 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com