
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज शनिबार सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।