
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको पुर्ण मात्रा खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन दादुरा र रूबेलाकोपुर्ण मात्रा खोप लगाउन जरूरी रहेको बताएको छ ।
केन्द्रले ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।
दुई मात्रा खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने खोप शाखा प्रमु सागर दाहालले बताउनुभयो ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुरा नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको छ। नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान शुरु भएको ठाउँमा अहिलेसम्म ३ हजार बालबालिकालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।