एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : ओली
Picasa

काठमाडौं । चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने दाबी गर्नुभएको छ ।

एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि जिकिर गर्नुभयो । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने रु’

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उहाँको भनाइ थियो । उहाँले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गर्नुभयो । ओलीले भन्नुभयो, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि फेरि सम्भावना सुरु भएको जिकिर गर्नुभयो ।

एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधि सभाका उम्मेदवार बन्नुभएका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आउँदा सम्भावना सुरु भएको बताउनुभयो । उहाँले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने जिकिर गर्नुभयो । उहाँले मङ्सिर ४ गतेपछि बन्ने एमालेको सरकारमा अशोक राई फेरि मन्त्री बन्ने सङ्केत पनि गर्नुभयो ।

ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसर रहेको बताउनुभयो । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ओलीले मङ्सिर ४ गतेपछि सर्भे सुरु गर्ने जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com