प्रहरी हवल्दारद्वारा नाबालिक बलात्कार प्रयास

प्रहरी हवल्दारद्वारा नाबालिक बलात्कार प्रयास

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी हवल्दार विरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत रहेका थिए । बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए ।

आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिका सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका हुन । ती नाबालिका कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ । बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए ।

पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेको डिएसपी डाँगीले बताए। सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वत निलम्बनमा परेका छन् ।

‘नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, दोषी भेटिएमा कानुन बमोजिम हदैसम्मको कारबाही होस्,’ उनले भने । एसपी रावलका अनुसार बुवालाई क्यान्सर भयो, उपचारका लागि चितवन लैजाने भन्दै बुढाले विदा स्वीकृत गराएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com