
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैले व्यहोर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
भारतबाट उपचार गरेर आइतबार मात्रै राष्ट्रपति पौडेल स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेलको उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने र उपचार खर्च आफै व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत उनले गरेका छन्।
उनले भने, ‘यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ ?’
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफै उपचार गर्नुपर्ने विभेद हुनु नहुने बताएका छन्।