सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।

नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका-६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए ।

त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् । आइतबार विहानै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव उठाउने विषयमा छलफल गर्न बैठक राखेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ ।

जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको अवस्थामा समेत प्रदर्शनकारीहरूले शवसहित प्रदर्शन गरेका थिए । बरहथवाका मेयर कल्पनाकुमारी कटुवालले ९ असोजमा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । त्यही विवादमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

गोली चलाउने वरिष्ठ हवल्दार यादव जिल्ला तानिए

सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रशासनलाई जानकारी दिए । गत शुक्रबार बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com