रुकुम पश्चिममा निर्माण भए सात हजार अस्थायी टहरा

रुकुम पश्चिममा निर्माण भए सात हजार अस्थायी टहरा

रुकुम पश्चिम । जाजरकोट भूकम्पपछि रुकुम पश्चिममा सात हजार अस्थायी टहरा निर्माण भएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको अनुदान रकमबाट हालसम्म सात हजार ७९ टहरा निर्माण भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार अहिलेसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा तीन हजार ४२ अस्थायी टहरा निर्माण भएका छन् । आठबिसकोट नगरपालिकामा तीन हजार १४ टहरा निर्माण भएका छन् ।

बाँकी अस्थायी टहरा चौरजहारी, मुसिकोट, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा निर्माण भएको बताइएको छ । नौ हजार तीन सय ४१ अस्थायी टहरा भने हाल निर्माणकै चरणमा रहेको प्रजिअ पन्तको भनाइ छ ।

त्यस्तै जिल्लाका १९ हजार सात सय १७ लाभग्राहीले पहिलो चरणको अनुदान रकम प्राप्त गरेका छन् । जसअन्तर्गत ४९ करोड २९ लाख २५ हजार रकम लाभग्राहीको खातामा गएको छ ।

भूकम्पपछि रुकुम पश्चिममा साढे २३ हजार घरपरिवार लाभग्राहीको रुपमा कायम भएका छन् ।सोहीअनुरुप जिल्ला विपद कोषमा प्राप्त भएको ८४ करोड रकममध्ये स्थानीय विपद कोषमा ५९ करोड २ लाख रकम पठाइएको छ ।

उक्त रकम स्थानीय पालिकाले अस्थायी टहरा निर्माणका लागि पहिलो चरणको किस्ता बापत २५ हजारका दरले लाभग्राहीको खातामा पठाएका छन् । तर जिल्लाको बाँफिकोट गाउँपालिकाले भने हालसम्म कुनैपनि लाभग्राहीको खातामा अनुदान किस्ता पठाएको छैन ।

यता जिल्ला प्रशासन कार्यालयले भने स्थानीय विपद कोषबाट अझै पनि लाभग्राहीको संख्या कायम भैरहेकाले थप ६८ करोड रकम माग गरिएको जानकारी दिएको छ । रुकुम पश्चिममा प्रहरी मुचुल्का अनुसार हालसम्म २६ हजार बढी घरधुरी लाभग्राहीका रुपमा कायम भएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com