खटिए मतदान स्थलमा कर्मचारी

भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदानस्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी सुरुआत गरेको छ । मतदान अधिकृतले मङ्गलबार सम्बन्धित मतदानस्थलमा राजनीतिक दलहरुसँग निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक छलफल गर्दै निर्वाचनको आवश्यक तयारी सुरु गरेको हो । कर्मचारीले बुधवार र बिहीबार मतदान केन्द्र निर्माण गर्नुका साथै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्रसमेत वितरण गर्नुहुने जनाइको छ ।

जिल्लामा निर्वाचनका लागि एक हजार ९४ कर्मचारी खटिएका छन । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार पाँच सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा ४ र ५०० भन्दा बढी मतदाता रहेको केन्द्रमा पाँचजना कर्मचारी व्यवस्था गरिएको छ । एक हजार मतदाता बराबर एक मतादान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी निर्वाचनमा शान्ति कायम गर्न जिल्लामा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचालित गरिएको जनाइएको छ । सुरक्षाका लागि आवश्यकता अनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचान गर्ने प्रजिअ शर्माले जानकरी दिनुभयो ।

जिल्लामा शान्ति सुरक्षा, अपराध न्यूनीकरण गरी स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न, निर्वाचनमा आउनसक्ने चुनौतीको समाधान लागि आवश्यक पूर्वतयारीको सुरक्षा रणनीति तयार गरिसकेको प्रजिअ शर्माले जानकारी दिनुभयो । मतदानको दिन नाकाको सुरक्षाका लागि उपत्यकाका प्रजिअसँग आवश्यक छलफल गरी तयारी गरिएको उहाँले बताउनुभयो । निर्वाचनको दिन मौसमविद्ले वर्षा हुने पूर्वअनुमान गरेकोले मतदान प्रभावित हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनले जनाएको छ । मतदानको दिन पानी परेमा विशेष सुरक्षाको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । “पानी नचुहिने त्रिपाल, त्रिपालको व्यवस्था रामोसँग गर्न निर्देशन जारी गरिसकेको छाँै । निर्वाचनको दिन निर्वाचन अधिकृ र त्यहाँ खटाइने कर्मचारीको लागि बर्षादी, छाताको व्यवस्था गर्न भनेका छौँ,” उहाँले भन्नुभयो । निर्वाचनलाई वर्षाबाट प्रभावित हुन नदिन प्रत्येक मतदान केन्द्रमा दुई त्रिपाल अनिवार्य गरिएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

मतदानस्थलमा हुने विभिन्न गतिविधिलाई शान्ति रुपमा सम्पन्न गर्न कर्मचारीलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । मतदानको दिन अशक्त र अपाङ्गता भएकाको लागि मुख्य निर्वाचन कार्यालयले एकाघर परिवारमा एक जना सहयोगी रहने गरी घरदेखि मतदान केन्द्र र मतदान केन्द्रबाट घरसम्म पु¥याउने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताउनुभयो । यसका लागि मुख्य निर्वाचन कार्यालयमा सम्पर्क राख्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनका लागि जिल्लामा अनावश्यक सावारी पास वितरण नगर्ने र मादकपदार्थ सेवन र बिक्री वितरणमासमेत निषेध गरी कडाइका साथ लागू गर्ने र मौन अवधिमा हुनसक्ने निर्वाचन आचारसंहिता हनन र झडपको अवस्था आउन नदिन विशेष संयन्त्र परिचालन गरिने उहाँले जानकारी दिनुभयो । निर्वाचनको दिन एम्बुलेन्स, दमकल, शवबाहन भने निर्वाध रुपमा चलाउन पाइने व्यवस्था गरिएको छ, तर परिचयपत्र अनिर्वाय गरिएको छ ।

जिल्लामा कूल ७७ मतदानस्थल र २१९ मतदान केन्द्र छन् । ती मध्ये भक्तपुर नगरपालिकामा १६ मतदानस्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थल र ५८ मतदान केन्द्र, मध्यपुर थिमि नगरपालिकामा १७ मतदानस्थल र ४६ मतदान केन्द्र निर्धारण गरेको छ । जिल्लामा भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुर थिमि नगरपालिकामा ४१ हजार ८४२ मतदाता छन् । यसैबीच जिल्लामा स्थानीय निर्वाचनको आचारसंहिता विपरीतका २२ घटनामा कारबाही गरिएको छ ।

सार्वजनिक स्थानमा झण्डा राख्ने, भित्ते लेखन जस्ता आचारसंहिता विपरीतका घटनामा तत्काल सुरक्षाकर्मी परिचालन गरी झण्डा हटाउने र भित्ते लेखन पुछ्ने कार्य गरेको मुख्य निर्वाचन अधिकृत बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले जिल्लामा राहतका नाममा सर्वसाधरणलाई विभिन्न सामग्री वितरणको प्रयाससमेत भएको र त्यस्तो खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरेर तत्काल रोक लगाएको बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com